युवाहरुमा मानसिक स्वास्थ्य समस्या, यसकारण आवश्यक छ मनोविमर्श

२०८० माघ १० बुधबार १७:१६:०० मा प्रकाशित

मानसिक स्वास्थ्य समस्यालाई क्यान्सर, मधुमेह अथवा मुटुसन्बन्धी रोगभन्दा सामान्य मानिन्छ । हाल २६ प्रतिशतभन्दा बढी १८ वर्ष उमेर पुगेका मानिसहरुमा मानसिक समस्या पाइएको छ । 
विगतमा प्रौढ उमेर पछिमात्र देखिने विश्वास गरिएको मानसिक स्वास्थ्य समस्या हाल युवा र बालबालिकामा समेत बढी देखिन थालेको एक अध्ययनले देखाएको छ । हरेक ५ जना युवामध्ये १ जनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइन्छ ।
स्वास्थ्य भनेको कुनै पनि रोग वा अशक्तता नहुनुमात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक, अध्यात्मिक र सामाजिक स्वस्थताको गतिशिल अवस्था हो ।  सामान्यतयाः मानसिक स्वास्थ्य भन्नाले मनोबैज्ञानिक तवरले स्वस्थ्य रहनु भन्ने बुझिन्छ । मानसिक स्वास्थ्यले व्यक्तिको त्यो क्षमतालाई जनाउँछ, जसले उसलाई आफ्नो समूह तथा वातावरण संगको अन्तरक्रियालाई सहायता पुर्याउँदछ । 
हामिले आफ्नो वरीपरीको संसारलाई कसरी हेर्छौ, कसरी सोच्छौ र कसरी महशुस गर्छौ, त्यसलाई नै मानसिक स्वास्थ्य भनिन्छ । विश्व स्वास्थ्य संगठनको अनुसार “मानसिक स्वास्थ्य भन्नाले त्यो अवस्थालाई जनाउँछ जब व्यक्तिले आफ्नो क्षमता महशुस गर्छ, जीवनमा आईपर्ने सामान्य तनावहरुसँग सामना गर्नसक्छ, पुर्णरुपमा उत्पादनशील भएर कामगर्न सक्छ र आफ्नो समुदायमा केहि योगदान गर्न सक्षम हुन्छ ।” 
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका सामान्य तनावको सामना गर्न, उत्पादनशिल एवं प्रभावकारी तरिकाले काम गर्न र परिवार तथा समुदायमा योगदान दिन सक्षम हुन्छ । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणहरूबाट व्यक्तिको मनका भावना, विचार वा सोचाइहरूमा विचलनले गर्दा मानिसमा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यवहारिक परिर्वतनलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ । मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावना, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ । जसको कारण व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर पुग्छ ।
मानसिकरुपमा स्वस्थ व्यक्तिले निम्न कामहरु गर्न सक्छन ः
– स्पष्टरुपमा सोच्न
– आफ्ना समस्याहरु समाधान गर्न
– उत्पादनमुलक काम गर्न
– अरु व्यक्तिसँग सुमधुर सम्बन्ध राख्न
– आत्मिक रुपमा सहज महशुस गर्न
– समाजमा योगदान पुर्याउन
प्रायःजसो मानसिक रोगहरुमा खास गरेर सामान्य प्रकारको मानसिक समस्याको उपचारमा मनोविमर्शको महत्वपुर्ण भूमिका हुन्छ । मनोविमर्श भनेको मनोविमर्शकर्ता र सेवाग्राही बीचको एउटा योजनाबद्ध सहयोगको प्रक्रिया हो । मनोविमर्श कुराकानीको माध्यमबाट मानसिक समस्या भएका व्यक्तिलाई संवेगात्मक सहयोग दिँदै समस्या समाधानका लागि उपायहरू खोज्न सहयोग पुर्याउने एउटा प्रक्रिया हो । मनोविमर्शमा मनोविमर्शकर्ता र सेवाग्राही बीचको सम्बन्ध एक आपसमा आदर, मैत्रीपूर्ण, सहयोगपुर्ण, विश्वासिलो र भरपर्ने हुन्छ जसमा मनोविमर्शकर्ताले समस्यामा परेको व्यक्तिलाई सीपमा आधारित कुराकानीको माध्यमबाट उसका समस्या, व्यवहार र अप्ठ्याराहरूको समाधानमा सहयोग गर्दछ । 
मनोविमर्श मनोबैज्ञानिक सहयोग विधि हो जसमा तालिमप्राप्त मनोविमर्शकर्ताले सेवाग्राहीको समस्यालाई बुझ्न मद्दत गर्दछन् । मनोविमर्शमा सेवाग्राहीको भावनात्मक तथा सामाजिक समस्याहरुको असर कम गर्न र त्यसलाई सजिलो बनाउने उपायहरुको खोजीगर्न सेवाग्राही र मनोविमर्शकर्ता दुबैले संयुक्त प्रयास गर्दछन् । मनोविमर्शमा कुराकानी सहयोगको एउटा प्रमुख माध्यम हो । यसका साथै आवश्यकता अनुसार अरु वैकल्पिक साधन जस्तैः– चित्र, खेल, जाँच–सूची, नाटक, भूमिका निर्वाह, आराम आदि पनि प्रयोग हुन्छन् । मनोविमर्शमा मनोविमर्शकर्ताले समस्या समाधानका लागि कुनै पनि सल्लाह वा सुझाव दिँंदैन बरु सेवालिने व्यक्तिलाई उसका समस्या समाधानका उपायहरू ऊ भित्रबाट नै निकाल्न÷खोज्न सहयोग गर्दछ । मनोविमर्शले सेवाग्राहीलाई साँस्कृतिक विभेद र लैँगिक दृष्टिकोणको प्रभावमा नआएर स्वतन्त्र रुपमा अफ्ना अनुभव तथा दुःख, चिन्ताहरूका सम्बन्धमा छलफल गर्न सक्षम बनाउँछ ।
मनोविमर्श किन आवश्यक छ ?
सेवाग्राहीलाई उनको समस्या प्रष्टसंग बुझ्न मद्दत गर्नु ।
सेवाग्राहीको समस्याहरु एक भन्दा बढी भएको अवस्थामाती समस्याहरुको प्राथमिकीकरण गर्न सघाउने । 
सेवाग्राहीको समस्याहरुमा आवश्यक सामाधानका उपायहरुको खोजी गर्नलाई सहयोग गर्नु । ती उपायहरुलाई व्यवहारमा उतार्न आवश्यक सहयोग गर्नु ।
सेवाग्राहीको आत्मविश्वास बढाउछ साथै म एक्लो छैन, मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्ति छन् भन्ने भावनाको विकास गर्दछ ।
सेवाग्राहीलाई मनको पीडा अभिव्यक्ति गर्नमा सहयोग गर्दछ ।
मनोसामाजिक समस्यासँग सामना गर्न तथा समाधान गर्न मनोविमर्श एक प्रभावकारी सहयोग विधि हो । 
मनको भावना व्यवहारमा देखिन्छ भन्ने कुरामा आधारितभई मनोविमर्श भावनामा केन्द्रित हुने गर्दछ ।
मानिसलाई मानसिक रुपमा स्वस्थ रहनमा योगदान गर्दछ । समस्याभएको व्यक्तिमा स्वःस्फुर्त परिवर्तन ल्याउन सहयोग गर्दछ साथै व्यक्तिमा अन्तरदृष्टिको विकासभई आफूलाई पुर्ण रुपमा स्वीकार गर्न सहयोग गर्दछ ।

नेपालमा मनोविमर्शको आवश्यकता र मनोविमर्शका केही क्षेत्रहरुः
नेपालमा दक्ष जनशक्ति जस्तै चिकित्सक, मनोचिकित्सक, मनोविज्ञ आदिको अभाव छ । यस्तो अवस्थामा सहयोगको भावना, भएका जोकोहिले पनि केही समयको प्रशिक्षण लिएर मनोविमर्श सेवा प्रदान गर्न सक्छन् साथै मनोसामाजिक समस्या र त्यसको उपचारमा चेतना अभिवृद्धि गर्नको लागि, जनमानसमा रहेको डर, त्रास र सामुहिक आघातको अवस्था कम गरी उनीहरूमा आत्मविश्वास र आत्मनिर्भता बढाउनको लागि । मनोसामाजिक समस्या भएका व्यक्तिहरूको पहिचान, समस्यामा सहयोग र जटिल समस्याभएको अवस्था पहिचान गरी सम्बन्धित संघ, संस्था तथा उपचार केन्द्रहरूमा सिफारिस गर्नको लागि । मनोविमर्श केही क्षेत्रहरु निम्नप्रकार रहेका छन् ।
– मानसिक समस्याहरुमा
– यौवन अवस्थाको समस्या
– वैवाहिक समस्या
– अपाङ्गता तथा असक्षमता
– दुर्व्यसनी तथा लागु औषध, मद्यपान
– मानव बेचविखन, यौन शोषण तथा यौन दुर्व्यवहार
– बृद्धबृद्धाहरुका समस्यामा र पुनःस्थापना
– भविष्य, रोजगारी र पारिवारिक समस्याहरुमा
– विवाहपुर्व र विवाह पछिको  समायोजन
– इन्टरनेटको लत आदिमा ।
मनोविमर्शका प्रभावहरुः 
क) तत्कालीन प्रभावहरुः

नकारात्मक सोचाइमा परिवर्तन भई सकारात्मक सोचाइ राख्ने व्यवहारको ज्ञान हुन्छ । समस्या आफनै कारणले  देखिएकोले समाधानपनि गर्न सकिन्छ भन्ने भावनाको विकास हुन्छ जसले गर्दा आत्मबल रआत्म सम्मान बढ्छ । मूख्य समस्या के हो भन्ने थाहा हुन्छ र अन्तर ज्ञान प्राप्त हुन्छ । संवेगात्मक सहयोगद्वारा मनका पीडा कम हुन्छ र आराम मिल्दछ । समस्या समाधानका उपायहरूको खोजी तथा प्रयोग हुन्छ जसले समस्या समाधानमा सहयोग गर्दछ । म असहाय छु भन्ने भावनामा कमी आउँछ । आफूमा र अरुमाविश्वास गर्न सक्ने वातावरणको सृजना हुन्छ । समस्याप्रतिका गलत धारणा र मान्यताहरू हराउँछन् । 
ख) दीर्घकालीनप्रभावहरुः
एउटा समस्यासँग जुध्न वा सामना गर्न सिकेपछि सामान्यीकरणको माध्यमबाट अरु त्यस्तै वा अलि विभिन्न प्रकारका समस्यासँग जुध्न वा सामनागर्न सक्दछ । समस्याको अवस्थाबुझ्न सक्छ । सामनागर्ने व्यवहार सकारात्मक हो कि नकारात्मक हो भनी छुट्याउन सक्छ । आफ्नो क्षमता तथा कमजोरीहरू छुट्याउन सक्दछ । आरामका तरिकाहरू एक पटक सिकेपछि जीवनभर प्रयोग गर्न सक्दछ । यो मनको कुरा त्यो मनले वुझ्ने सामाजिक सहयोग प्रणाली–सञ्जाल पत्ता लगाएपछि जीवनभर प्रयोग गर्न सक्दछ ।