जाजरकाेट नलगाडका एउटै वडाका २० जना युवा जेल

२०८० माघ १३ शनिबार ०९:३५:०० मा प्रकाशित

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका–९ का २० पुरुष जेलमा छन् । अफिम खेती वा ओसार पसार गर्नेसम्बन्धी कसुरमा नलगाड – ९ घोरेगा, बाँसकोट र तांत्रा गाउँका २० युवा जेल परेका हुन् । आर्थिक प्रलोभनमा एक अपरिचित व्यक्तिको अफिम ओसार पसार गर्दा उनीहरू जेल गएका हुन् । २० जना युवालाई ३ वर्षदेखि १० वर्ष सम्मको कैद सजाय तोकिएको छ । जसमा १२ जना भारतीय कारागार र पाँचजना जाजरकोट कारागारमा छन् । यस्तै, सुर्खेत, बाँके र काठमाडौं कारागारमा एक,एकजना रहेका छन् । परिवारका मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको विचल्ली भएको छ । धन कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपांगता भएका व्यक्ति, दीर्घरोगी र बेसाहारा व्यक्तिहरू मात्रै छन् ।

भूकम्पले चर्किएका घर छोडेर हाल त्रिपालमा बसिरहेका पीडित परिवारलाई खान लाउनै समस्या भइरहेको छ । काम गर्ने सक्रिय युवाहरू नै जेल परेपछि अस्थायी टहरासमेत निर्माण गर्न नसकिएको स्थानीय लक्ष्मी सिंहले बताईन् । ‘धन कमाउने श्रीमान् जेलमा हुनुहुन्छ । आयस्रोत केही छैन १० जनाको घर परिवारलाई के खाउ के लगाऊँ भन्ने पिरलो छ । उनले भनिन्, अर्कोतिर भूकम्पले घर चर्किएपछि अस्थायी टहरासमेत बनाउन सकिएको छैन । त्रिपालमै चिसो रात काट्न बाध्य भएका छौं । स्वास्थ्य अवस्थासमेत कमजोर बन्दै गएको छ । लक्ष्मी सिंहका तीन छोरा र तीन छोरीसहित घरमा बुढा सासू ससुरा छन् । श्रीमान् प्रेम सिंह जेल परेपछि खानाको जोहोका लागि काम गर्नुपर्ने बाध्ययताले जेठो छोराले समेत पढाइ छाडिसकेका छन् अन्य छोरा–छोरीलाई पनि पढाइ छाडनुपर्ने बाध्यता आइपरेको छ ।

उनी जस्तै पीडित सबै परिवारको अवस्था उस्तै छ कमाएर परिवार पाल्ने श्रीमान् जेल परेपछि परिवारमा मानसिक विचलन आएको सुशीला सिंहले बताईन् । श्रीमान् जेल पर्दा काम गरेर १२ जनाको परिवार पाल्नुपर्ने पीडाले बसेको उनको भनाइ छ । यसैमाथि भूकम्पले दिएको थप पीडाले परिवार विक्षिप्त बनेको उनी बताउछिन् । सुशीलाका चार वर्षदेखि २२ वर्ष सम्मका दुई छोरा र आठ छोरी छन् । काम गर्ने जेठो छोरा र बुहारीसमेत छुट्टिएर अलग वस्न थालेपछि बाँकी परिवार पाल्न उनलाई हम्मे हम्मे परेको छ । ‘लोग्ने मान्छे घरमा हुनेहरू त्रिपालबाट टहरामा सरेका छन् । तर हामीलाई अस्थायी टहरा पनि बनाउन हम्मे हम्मे परेको छ । घर बनाउने कल्पना नै छैन, उनले भनिन्, ‘पहिले घरमा भेडाबाखाहरू धेरै थिए । कमाउने श्रीमान् जेल परेपछि सबै बेच्दै गए । अब एउटा भैंसी मात्र बेच्न बाँकी छ ।’

घरमा गरिवीले थिच्दै गएपछि सुशीलाका माइलो छोरासमेत कामका लागि पढाइ छोडेर भारत छिरेका छन् । गाउँमा काम पनि नपाइने र पाइएको कामले पनि परिवारलाई खान लगाउन मुस्किल परेको उनले बताईन् । घरमा खान–लाउन मुस्किल परेपछि छोराछोरी पढाउन छोडेर काममा लगाउनुपर्ने अवस्था आएको उनले बताईन् ।

घरमा कमाउने बुवा कालिबहादुर सिंह जेल परेपछि आफूले पढाइ छोडेर परिवारको आहारा जोहो गर्न वाध्य भएको छोरा राजेन्द्र सिंहले बताए । बुढी आमा, श्रीमती र सानी छोराको भोको पेट हेर्न सकिन । त्यसैले पढाइ छोडेर ज्यालादारी काममा लागेको छु, उनले भने, त्यसैमा झन् भूकम्पले पीडा थपेको छ । अस्थायी टहरा पनि बनाउन सकेका छैनौं ।

काम गर्ने युवाहरू जेलमा हुँदा गाउँका महिलालाई बच्चा पाल्न नै धौधौ परेको स्थानीय महेन्द्र सिंहले बताए । उनीहरूको भूकम्पले चर्किएका घरटहरा बनाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । ’जेल परेका युवाहरूको गलत नियत थिएन । काम गरेर खाने सिधासाधा व्यक्तिहरू आर्थिक प्रलोभनमा फसेका हुन्, उनले भने, एक अपरिचित व्यक्तिले गाउँमा अफिम संकलन गरेको रहेछ । त्यही अफिम नेपालगञ्ज पुन्याइदिए बापत प्रतिकिलोको आठ १० हजार रकम दिने भनेपछि ओसारेका रहेछन् ।

लागुऔषध सम्बन्धी कसुरको सजायअन्तर्गत २५ बोट भन्दा बढी अफिम वा कोकाको खेती गर्नेसम्बन्धी कसुरका आधारमा अफिम वा कोकाको खेती गर्ने, वा कसुरको गम्भीरता, कसुरदारको दोषीपना कसुरबाट पुगेको क्षति तथा कसुरबाट भएको वा हुनसक्ने जोखिम समेतलाई आधार मानी कानुनअनुसार २० जना युवालाई तीन वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोकिएको छ ।

वडाध्यक्ष भविन्द्रवहादुर सिंहले जेलमा रहेका युवाहरूको परिवारलाई सहयोग गर्न अपिल गरेका छन् । चारैतिर भूकम्पले थला पारेको अवस्थामा बडाले हेर्न नसकेको भन्दै परिवारको अस्थायी टहरा निर्माण गर्न सहयोगका लागि उनले सबै संघ संस्थालाई आग्रह गरेका छन् । नगरपालिकाका मेयर डम्बरबहादुर रावत अन्य भूकम्प पीडितभन्दा युवा जेलमा रहेका पीडित परिवारलाई धेरै सहयोग गर्नुपर्ने अवस्था रहेपनि पालिकाले सोचेअनुसार सहयोग गर्न नसकेको स्वीकार गरे ।

यस्तो अवस्थामा पीडितको घाउमा मलम लगाउन सहयोगी दाताहरूलाई उनले अपिल गरे । अस्थायी टहरा निर्माणका लागि २५ हजार रकम वितरण गरेका थियौं तर, खान लगाउन नै धौ धौ भएपछि उनीहरुले टहरा निर्माण गर्न सकेका छैनन्, उनले, पालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण मापदण्ड बनाउदै छ तर अस्थायी टहरा नै बनाउन नसक्ने अवस्थाका व्यक्तिले कसरी प्रतिरोधी घर बनाउँछन् चिन्ता र चासोको विषय हो । पालिकासंग स्रोत नभएको प्रमुख रावतले बताए ।

साभार हाम्राे पहँच बाट