जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने आर्थिक मामिला तथा योजनामन्त्री सिंह

२०८० माघ २२ सोमबार २०:५०:०० मा प्रकाशित

जाजरकोट । जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो । यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका हुन । अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिनेछ । ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन ।

संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका थिए । यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गरिनेछ । यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे मन्त्री सिंहले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराएकाे बताउछन । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पटक पटक भेटेर ध्यानाकर्षण गराएका हुन ।

गएको असार अघि नै मनघाट र खारामा पुल जडानका लागि पहल गरेका थियौं । पटक पटक भेटघाट र छलफल गरेका थियौं  मन्त्री सिंहले भने , माननीय ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बस्नेतको विशेष पहल र माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सहयोगले आज पुल प्राप्त भएको छ। अब सम्बन्धित क्षेत्रमा पुर्‍याएर ढिलोमा तीन महिनाभित्र जडान गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।´
खारा खोलामा पक्की पुल निर्माणका लागि केही वर्ष पहिले नै ठेक्का लागिसकेको भएपनि `विवाद´का कारण बन्न सकेको छैन। उक्त पुलको विषय अहिले सर्वोच्च अदालत पुगेको छ ।