देउवा र लिङ्देनले भनेः कैलाश सिरोहियालाई पक्राउ गर्नु खेदजनक

२०८१ जेठ ९ बुधबार ०९:२५:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति खेद जनाएका छन्।

मंगलबार सिरोहिया पक्राउ परेपछि उनीहरू दुबैले आफ्नो ट्विटरमार्फत आपत्ति जनाएका हुन्।

सभापति देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै यसलाई सरकारको अलोकतान्त्रिक कदम भनेका छन्।

उनले लेखेका छन्, 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।'

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरूपयोग भएको बताएका छन्। 

उनले लेखेका छन्, 'कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहिया माथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ। तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ। कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य सावित गरेर देखाउनु पर्नेमा यस प्रकारको गिरफ्तारी सत्ताको चरम दुरूपयोग हो।'