वन "विनासले सुक्दै गएको वुदवुदी र निदाएका सरोकारवालाहरु "

२०८१ जेठ ९ बुधबार ०९:४०:०० मा प्रकाशित

जाजरकोट जिल्लाको खलंगा डाँडोमा रहेका दर्जन वढी वस्तीहरु र त्यस वरिपरिका अन्य धेरै वस्तीहरुका जनताले पिउने पानीको लागि पुर्ण रुपले भर परेको एउटै ठाउँ हो वुदवुदीको जंगल भित्रको पानी मुल । यो जंगल र यहाँ भित्र पानी मुल नभएको भए सायद खलंगाको अस्तित्व सम्भव थिएन । साढे तीन चार सय वर्ष अघि जगतिपुरवाट खलंगामा जाजरकोट राज्यको राजधानी सार्नुका धेरै कारणहरु मध्य एउटा कारण वुदवुदीको पानी मुल पनि भएको वुढापाकाहरुको भनाई छ ।

भेरी नगरपालिकाको वडा नम्वर २,४ र ६ संग जोडिएको यो वुदवुदीको जंगल क्षेत्रका मुलहरुवाट जागेको चिसो अनि औषधी रुपी मिठो पानी सिंगो खलंगाका जनताले मात्र नभएर विभिन्न काम र व्यवसायले खलंगामा वस्ने र आवाजजावात गरिरहने जाजरकोट भरिका जनताले वर्र्षाै देखि पिउदै आएका छन् ।

वुदवुदीको जंगल र पानी प्राकृतिक र मानवीय आवश्यकताका हिसावले निकै उत्कृष्ट र जरुरी छ । यति मात्र हैन यो क्षेत्रमा राणा प्रधानमन्त्री चन्द्र शम्शेर विहे गरेकी जाजरकोटकी छोरी वालकुमारीले आफनो जन्मभुमिप्रति देखाएको अथाह माया पनि जोडिएको छ । वालकुमारीले आफना माइती गाउँका जनताले भोगेको चरम खानेपानीको समस्या समाधानका लागि वुदवुदीमा पानी टंकी र खलंगामा १० वटा कलधारा निर्माण गर्नु अघि वेलायतवाट पानी विज्ञ ल्याएर गरिएको परीक्षणले यहाँको पानी जैविक हिसावले मानव स्वास्थ्यलाई फाइदा गर्ने खालको औषधीजन्य र गुणस्तरीय भएको तथ्य फेला परेको थियो ।यस कारणले पनि वुदवुदीको पानी, जंगल र जैविक विविधता संरक्षणको जरुरी पहल आवश्यक देखिन्छ । तर स्थानीय जनता, सरकार र सरोकारवालाहरुवाट अहिले सम्म त्यस्तो चासो र पहल हुन सकेको छैन ।

जैविक विविधता र खनीजजन्य महत्वपुर्ण चीजवस्तुहरुको उपलव्धताको हिसावले निकै उत्कृष्ट र लाभदायक वुदवुदीको जंगल क्षेत्र र यहाँको पानीको मुहान अहिले नासिने र सुक्ने क्रम तिव्र वनेको छ । यो निकै दुखद र चिन्ताको विषय हो । वुदवुदीको जंगल मासिदै गएको र पानीका मुल सुक्दै गएको सवैलाइ थाहा छ । पहिले खलंगामा आउने पानीको मात्रा र अहिले आउने मात्रा, पहिलेको घना वुदवुदीको जंगल र अहिले उजाड वन्दै गएको जंगलका वारेमा सवै पक्ष, व्यक्ति समुदाय, स्थानीय सरकार र निकाय मज्जाले जानकार छन् तर सुक्दै गएका पानीका मुल जोगाउन र नासिदै गएको जंगल जोगाउन कसैलाइ मतलव छैन ।

डोजर हालेर सडक वाटो खनेपछि विकासका सवै सर्तहरु पुरा भइहाल्छन् भन्ने सोचाइ सर्वत्र छ । त्यसैले डोजरे विकासले पानीका मुल वरिपरि खन्ने, जंगल मास्ने र मुल सुकाउन निकै ठुलो योगदान गरेको देखिन्छ ।

जिल्लाका प्राकृतिक, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा स्वयम स्थानीय जनता, सरोकारवाला र राजनैतिक नेतृत्व तथा अन्य पक्षको सक्रियता, योगदान र भुमिका अति जरुरी भएको कुरालाइ हृदयंगम गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले २०८० भदौ १५ गते सदरमुकाम खलंगामा कर्णाली प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित सवै सरोकारवालाहरुको सहभागितामा दुइ वटा मुख्य एजेन्डा राखेर जिल्ला स्तरीय समन्वय वैठक आयोजना गरेको थियो ।

मेरै अध्यक्षतामा वसेको उक्त सर्व पक्षीय समन्वय वैठकको पहिलो एजेन्डा थियो । जाजरकोट दरवार संग्राहलयको स्थापना र दोस्रो ऐजेन्डा थियो वुदवुदीको जंगल र पानीको मुहान संरक्षण । यिनै दुइ एजेन्डामा गहण छलफल गर्दै वैठकले तीन वटा अति महत्वपुर्ण निर्णय गर्यो । पहिलो र दोस्रो जाजरकोट दरवार संग्राहलय स्थापनाको लागि संघीय सरकारसंग अनुरोध गर्ने र जाजरकोट दरवार संग्राहलय स्थापनाको काम पुरा नहुन्जेल सम्म सो कार्यमा सहयोग पुरयाउन स्थानीय सरोकारवाला निकायको तर्फवाट प्रारम्भिक जाजरकोट दरवार संग्राहलय स्थापना गर्ने जसको पहिलो पहल जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने अनि तेस्रो निर्णय थियो ।

जाजरकोट सदरमुकाम खलंगा लगाएत अन्य क्षेत्रका जनताका लागि पिउने पानीको मुख्य मुहान रहेको र जैविक विविधताको अति महत्वपुर्ण पक्ष समेटेको वुदवुदीको जंगल क्षेत्र संरक्षणको आवस्यक पहल योजना र निर्णयका लागि जिल्ला स्थित सरोकारवाला निकाय, स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाइ अनुरोध गर्ने ।

यहि वैठकको तेस्रो निर्णय कार्यान्वय गराउने काममा सहयोग गर्नका लागि भन्दै जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको ताकेतामा डिभिजन वन कार्यालय जाजरकोटले भेरी नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, सम्वन्धित वडाका वडाध्यक्षहरु, नागरिक समाज, पत्रकार, दुइ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सहितका पदाधिकारीहरु तथा प्रतिष्ठानका पदाधिकारीहरुको सहभागितामा सरोकारवालाहरुको वैठक आयोजना गरयो । उक्त वैठकले पनि एक दुइवटा निकै महत्वपुर्ण निर्णय गर्यो ।

उक्त वैठकले पनि सम्वन्धित सामुदायिक वन उपभोक्ता समितिहरुको सहमति लिएर वुदवुदीको निस्चित क्षेत्रलाइ पुर्ण रुपले संरक्षित क्षेत्र वनाउने निर्णय गर्यो । तर त्यो निर्णय कार्यान्वयनका लागि डिभिजन वन कार्यालय, भेरी नगरपालिका र ती सामुदायिक वन उपभोक्ता समितिले के गरे, कुनै ताकेता भयो कि भएन भनेर अहिले सम्म कुनै जानकारी पाउन सकिएको छैन । जनताको जीवन, स्वास्थ्यको रक्षा तथा खलंगा र खलंगावासीको भविष्यसंग जोडिएको यो गम्भीर र अति जरुरी विषयमा पनि कुनै निकायले कुनै जिम्मेवारी र चिन्ता चासो नलिनुको कारण के हो भनेर पनि वुझ्न सकिएको छैन ।

वुदवुदी पानीको मुहान र जंगल भएको क्षेत्र मात्रै हैन महत्वपुर्ण जीवजन्तुको वासस्थान हो, उत्कृष्ट जैविक विविधता भएको क्षेत्र हो अनि सिंगो भेरी नगरपालिकाको सुन्दरताको कारण पनि हो तर पनि यसको संरक्षणको लागि न कुनै नगरसभा, न कुनै नगर कार्यपालिकाको वैठकमा यो वारे कुरा उठेको छ न डिभिजन वन कार्यालयले कुनै पहल गरेको छ न सम्वन्धित सामुदायिक वन उपभोक्ता समितिहरुले कुनै पहल गरेका छन् न त कोहि स्थानीय जनताले यो वारे चिन्ता चासो दिएका छन् । मेरै नेतृत्वमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका तर्फवाट वुदवुदीको जंगल र पानी मुहान संरक्षणको लागि ठोस पहल गर्न र गतिलो योजना निर्माण गरि कार्यान्वयन गराउन स्थानीय सरकार, डिभिजन वन कार्यालय, जिल्लावाट निर्वाचित साँसदहरु शक्तिवहादुर वस्नेत र वेदराज सिंह लगाएतलाइ पटक पटक ताकेता भएको छ । उपलव्धी के हुन्छ भनेर असार पछि थाहा हुने छ ।

अहिले वुदवुदीमा चरा र जीवजन्तुको सिकार गर्ने, घाँसदाउरा जथाभावी काट्ने, गाइवाख्रा हालेर जंगल सिद्धयाउने र चोरी चोरी रुख काट्ने काम व्यापक रुपमा भइरहेको छ ।वन मास्ने क्रियाक्लापहरुमा सवैको सक्रियता र योगदान भएको देखिन्छ । मुहान खोजी खोजी घर घर टोलटोलमा पानी लिन पाइप घुसाउन सवै सक्रिय हुने तर सुक्दै गएका मुल र मासिदै गएको जंगलको वास्तै नगर्ने स्थानीय जनताहरुको होस नफर्किए सम्म र मासिदै गएको जंगल टुलुटुलु हेरि वस्ने डिभिजन वन कार्यालय, खलंगा रेन्जपोष्ट र वन संरक्षणको लागि जिम्मा लिएर उल्टै जंगल सिद्धयाउने वन उपभोक्ता समितिका मान्छेहरु नसुध्रिए सम्म यो जंगल र पानीको मुहान जोगिएला जस्तो लाग्दैन । यत्रो जनता र सदरमुकामको भविस्यसंग जोडिएको जंगलक्षेत्र र पानी मुहान संरक्षणको लागि गतिलो पहल र योजना तर्जुमा गर्न जनप्रतिनिधिहरु र सरकारले कुनै काम नगर्नु पनि अचम्मको मात्र हैन निकै दुखको कुरा हो ।

वुदवुदीको जंगल मासिनु र पानीका मुहान डर लाग्दो ढंगले सुक्दै जानुमा स्थानीय सर्वसाधारण जनता मात्र होइन यस संग सम्वीन्धत सरकारी गैरसरकारी संघसँस्था र अन्य सरोकारवालाहरु पनि पुर्ण रुपले दोषी देखिएका छन् । राज्यको त्यत्रो तलव खाएर वन जोगाउने दायित्व लिएका वन कार्यालयका कर्मचारीहरु र आफनो जीवन र भविस्य जोडिएको जंगल जोगाउने नैतिक दायित्व वोकेका स्थानीय जनता सम्मिलित सामुदायिक वन उपभोक्ता समितिका मानिसहरु कहिलै वुदवुदीको जंगल क्षेत्रमा गएका छन जस्तो लाग्दैन ।यदि उनीहरु त्यता गएको भए या उनीहरुले दायित्ववोध गरेर नासिइरहेको जंगल र सुकिरहेको पानी मुलको लागि केहि काम गरेको भए आज वुदवुदीको जंगल र पानीको मुलको यो वेहाल अवस्था आउने थिएन ।

यति वेला वुदवुदीको जंगलमा जाने जो कोहिले पनि निकै अराजकताका साथ मासिएको जंगल र डरलाग्दो गरि सुक्दै गएका पानीका मुहान देखेर हैरान मात्र हैन चिन्तित हुने गरेका छन् । पानीका मुहानहरु सुक्दै गएको ,जंगल मासिदै गएको वन जोगाउने जिम्मा लिएकाहरुले नजिकै रहेर पनि चरम वेवास्ता गरेको देख्दा अवको केहि वर्ष पछि खलंगा र आसपासका वस्तीहरु काकाकुल हुने निस्चित देखिन्छ ।

हुन त यो जंगल जोगाउन जिम्मा लिएका स्थानीय जनता देखि विभिन्न सरकारी तथा गैरसरकारी निकाय र संघसस्थाहरुको संख्यामा भने कुनै कमी छैन तर हाका हाकी जंगल मासिदा भने कसैले कुनै प्रतिरोध गरेको देखिदैन । कुनै वेला गैरीखाली या साउनेपानी देखि उता छिर्नै नसिकने अवस्थाको वाक्लो जंगल अहिले पुरै खुला भएको छ, कुनै वेला खलंगामा चौविसै घन्टा धेरै धाराहरु चलाउदा, गाउँ गाउँमा रातदिन वगिरहने धाराहरु वनाउदा पनि पुगेको पानी अहिले पोख्रा खोलाको पानी मिसाउदा पनि अपुग हुन थालेको छ ।

त्यसैले खलंगा र आसपासका गाउँको भविष्य जोगाउन र वढ्दै गएको पानीका् समस्या हल गर्न तत्काल वुदवुदीको जंगल क्षेत्र संरक्षणको लागि स्थानीय वन उपभोक्ता समितिहर, डिभिजन वन कार्यालय, खलंगा रेन्जपोष्ट, भेरी नगरपालिका , सम्वन्धित वडाहरु, जिल्लावाट निर्वाचित जनप्रतिनिधिहरु सवैले एक साथ पहल गरौं हाम्रो यो महत्वपुर्ण प्राकृतिक सम्पदालाइ मासिनवाट जोगाऔं । धन्यवाद ।

लेखक केसी जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।