रवीको काँधमा बन्दुक राखेर ओली र प्रचण्डले पड्काएका हुन: नेता सिवकोटी

२०८१ जेठ ९ बुधबार ०९:४९:०० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयवावु सिवाकोटीले गृह मन्त्री रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको गोटी बनेको आरोप लगाउनु भएको छ ।

बुढा नेतालाई विस्तापित गर्छु भन्दै राजनीतिमा आएका लामिछानेले उनै पुराना तथा बुढा नेताको ईसारामा आफैलाई खाडलमा हाल्ने काम गरिरहेको तर्क नेता सिवाकोटीको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले ओली र प्रचण्डले रविको काँधमा बन्दुक राखेर पड्काएको टिप्पणी दिनुभयो ।

नेपाल प्रेस युनियनका पुर्व महासचिव समेत रहनु भएका नेता सिवाकोटीले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहीयालाई मिडिया हाउसबाटै पक्राउ गरेर प्रचण्ड सरकारले ज्ञानेन्द्र सरकारभन्दा कडा सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, “ज्ञानेन्द्रको दोस्रो वुख्याचाको रुपमा प्रचण्ड देखिएका छन्, उनैको इशारामा लामिछाने नाचिरहेका छन्, अरुप्रति प्रतिशोध साँधीरहेका छन् । अपराधीलाई कारवाही गर्ने कुरामा दुई मत भएन, तर आफै अपराधै अपराधको नायकले अरुलाई कारवाही गर्दा पुर्वाग्रह देखियो ।” “नागरिकता प्रकरणले सिरोहियालाई समातिएको हो भने लामिछानेको नागरिकता काण्ड झन ठूलो छ, सबैभन्दा पहिला लामिछानेलाई नै समात्नु पर्छ, तर त्यो त भईरहेको छैन, त्यसैले यहाँ पुर्वाग्रह र प्रतिशोध प्रष्ट झल्कीन्छ,” नेता सिवाकोटीको भनाई छ ।

नागरिकता काण्ड, पार्सपोर्ट, डाईभर हत्या काण्ड, दुरुत्साहन काण्ड, सहकारी काण्ड लगायतका दर्जनौ काण्ड रहेकाले ढिलो चाडो गृहमन्त्री लामिछानेको बास पनि जेलमा हुने सिवाकोटीले दावी गर्नुभयो ।

“समय सधैँ ओली, प्रचण्ड र रवीको पक्षमा मात्रै घुम्दैन, दोहोरो नागरिकताको विषय अहिले मुल्तवीमा रोकिएको मात्रै हो, कुनै न कुनै बेला यो अगाडि बढेपछि यीनी जेल जाकिने पक्का छ,” सिवाकोटीले भन्नुभयो ।

प्रतिपक्षी दल काँग्रेसका नेताको बारेमा प्रश्न उठाउदै गर्दा सत्ता पक्षका नेताहरुको काण्डका बारेमा चाहिं एक शब्द नबोल्नुले उनी पुर्वाग्रही छन भन्ने प्रष्टै देखिएको नेता सिवाकोटीको तर्क छ ।

लामिछानेलाई टिभीको कार्यालयबाट पक्राउ गरेको बेला पनि आफूहरुले प्रतिवाद गरेको स्मरण गर्दै काँग्रेस केन्द्रीय सदस्य सिवाकोटीले आज आफै मिडियाप्रति आक्रमणकारी बन्नु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्रले दललाई प्रतिवन्ध लगाउदा पनि सुरुमा धेरैले ठिक मानेका थिए, पछि बुझ्दै गएपछि विरोधमा उत्रिएको चर्चा गर्दै उहाँले पहिले रविलाई ठिक मानेका व्यक्तिहरुले पनि विस्तारै बुझ्दै गएपछि बेठिक नै रहेछ भन्न थालेको उल्लेख गर्नुभयो ।