अनाैठाे जाेडि पदयात्रामा माया बस्याे, ५ वर्षपछि नेपाल आएर गरे बिहे

२०८० मङ्सिर २६ मंगलबार १९:१९:०० मा प्रकाशित

जाजरकाेट । स्पेनिस युवक मार्क इस्मेन्डिया अर्जेम्ट अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा थिए।

प्रेमिका भुल्न उनी नेपालका हिमालतिर बरालिन आएका उनलाई पदमार्गका खोलानाला, झरना, वनजंगल र उकाली, ओरालीहरूले आकर्षित गर्न सकेका थिएनन्। एक जना साथीसँग आएका उनी प्रेमिकाकै सम्झनाले आहत थिए।

सन् २०१४ सेप्टेम्बर १९ को दिन। अन्नपूर्ण आधार शिविर जाँदै गर्दा समुद्री सतहबाट दुई हजार ९२० मिटर उचाइमा पुगेका थिए मार्क र उनका साथी। त्यहीँ उनीहरूको भेट भयो स्पेनकै अर्को पदयात्री टोलीसँग। उनीहरूले आपसमा परिचय गरे। सँगै चिया खाए। last-meeting-in-ktm-1702357579.jpg

तर मार्क कसैसँग खुलेर कुरा गर्न इच्छुक थिएनन्, मौन बसे।

अर्को टोलीमा थिइन् मिरियम रोजाज उम्बर्ट। उनलाई रूघाले सताएको थियो। औषधिले काम गरेको थिएन। मिरियमले नै मार्कलाई बोलाइन्। उनले आफूसँग भएको औषधि दिए।

'मलाई रूघाखोकी लागेको थियो। पदयात्रामा प्राथमिक उपचार किट बोक्ने जिम्मा पाएकी मेरो साथीले ल्याएको औषधिले काम गरेको थिएन,' मिरियमले ह्वाट्सएपमा सेतोपाटीसँग कुरा गर्दै भनिन्, 'उनले मलाई केही औषधि दिए। मार्क साँच्चै असल व्यक्ति लाग्यो।'

 

अन्नपूर्ण आधार शिविर पुगेर उनीहरूले सँगै खाना खाए। बाँकी यात्रा पनि सँगसँगै भयो। मार्क र मिरियम एकअर्कामा नजिकिँदै गए। पदयात्राबाट फर्केर पोखरामा थकाइ मारे। काठमाडौंमा सँगै घुमे। उनीहरूले आआफ्ना कथाव्यथा एकअर्कालाई सुनाए।

'हामीले एक अर्कालाई राम्ररी चिन्न पायौं। केही रमाइला पलहरू बितायौं,' मिरियमले भनिन्, 'मार्क धेरै सकारात्मक सोचाइका व्यक्ति लाग्यो।' marc-marriage-1702357602.jpg

 

अन्नपूर्ण आधार शिविरबाट काठमाडौं फर्किँदासम्ममा उनीहरू आपसमा भित्रभित्रै प्रेममा परेका थिए। काठमाडौंमा अन्तिम दिन बिताउँदा उनीहरूले प्रेम सम्बन्धमा रहने निधो गरे। बिदाइका बेला आपसमा अँगालो हाले।

उनी दुवै काठमाडौंबाट स्पेन फर्किँदै थिए। तर उडान एकदिन अघि–पछि थियो। मिरियम उडेको भोलिपल्ट मात्रै मार्क उडे।

पहिली प्रेमिका भुल्न नेपाल आएका मार्कले नेपालमै अर्की प्रेमिका भेट्टाए। मिरियम पनि असल केटा साथीको प्रतीक्षामा थिइन्। जीवनका हरेक पक्ष पर्गेल्ने मार्कको दृष्टिकोण उनलाई मनप‌र्‍यो।

'मार्क नेपालीहरूसँग घुलमिल हुन्थे। उनले यात्रामा भरपूर आनन्द लिए,' मिरियमले भनिन्, 'मलाई सबभन्दा मनपर्ने कुरा संसारलाई हेर्ने र बुझ्ने उनको दृष्टिकोण हो। उनमा बच्चाले पहिलोपटक कुनै वस्तु देखेजस्तै आशावादी दृष्टिकोण छ।'

मिरियम स्पेनको राजधानी बार्सिलोनामा एचआइभीमाथि विद्यावारिधि शोध गर्दै थिइन्। मार्क कनरी आइल्यान्डमा बुबाको व्यवसायमा सहयोग गर्थे। उनीहरू बीचको दुरी हजार किलोमिटरभन्दा धेरै थियो। तर भौगोलिक दुरीले टाढा पार्न सकेन। दिनहुँ म्यासेज गरे। हप्तैपिच्छे भेटे।

यसरी नै पाँच वर्ष बिते। प्रेम सम्बन्धले पाँचौं वर्ष पार गरेपछि उनीहरूले बिहे गर्ने निर्णय गरे।

मिरियमका अनुसार उनी बिहे गर्ने कुरामा त्यति उत्साहित थिइनन्। गर्ने नै हो भने नेपालमै होओस् भन्ने चाहना थियो।

उनले भनिन्, 'इमानदारीपूवर्क भन्छु, म बिहेका लागि धेरै उत्साही थिइनँ। गर्ने नै भए नेपालमै र अझ दुई जनाको पहिलो भेट भएकै ठाउँमा हुनुपर्छ भन्ने चाहन्थेँ।'

उनले मार्कसँग कुरा गरिन्। दुबैतिरका परिवारजन पनि सहमत भए।

बिहे नेपालमै गर्ने, नेपाली परम्पराअनुसार नै गर्ने र अन्नपूर्ण आधार शिविरमै गर्ने सहमति भयो।

मार्क सन् २०१४ मा आउँदा पोखराको इथिकल ट्रेकिङ कम्पनीले पदयात्रा गराएको थियो। आधार शिविरमा मार्क र मिरियमको बिहे गराउने जिम्मा पनि यही कम्पनीले पायो। सञ्चालक कृष्ण आचार्यले नेपाली परम्पराबारे उनीहरूलाई विस्तारमा जानकारी गराए।

नेपाली परम्परा अनुसार बिहेको मण्डप तयार भयो। सन् २०१९ अप्रिल २१ का दिन आधार शिविरमा दुलाहा, दुलही र स्पेनबाट आएका पहुना लैजान दुइटा हेलिकप्टर चार्टर गरिए।

त्यही दिन मौसम प्रतिकूल भइदियो। हेलिकप्टर उड्यो तर अवतरण हुन सकेन। बिहे त त्यसै दिन हुनु नै थियो। मौसममा सुधार हुने छाँट नदेखिएपछि ठाउँ फेरियो। पदमार्गमै पर्ने घान्द्रुकबाट केही तल शिवई गाउँमा मण्डप बनाइयो।

'अन्नपूर्ण आधार शिविरमा सबै तयारी पूरा भएको थियो तर मौसमले साथ नदिएपछि अर्को ठाउँ खोज्नुपर्‍यो,' इथिकल ट्रेकिङका सञ्चालक आचार्यले भने, 'शिवई गाउँमा मण्डप र स्वागतद्वार बनायौं। नेपाली परम्परा अनुसार सबै प्रक्रिया पूरा गरेर मार्क र मिरियमको बिहे गरिदियौं।'

बिहेमा सहभागी हुन स्पेनबाट मार्क र मिरियमका ५० जना आफन्त आएका थिए। बिहे गराउने पण्डित थिए सल्यान गाउँका गणेश पोखरेल। नेपाली पोसाक लगाएर मार्कले मिरियमको सिउँदोमा सिन्दुर भरिदिए। बिहेमा स्थानीय बासिन्दा र मार्कका नेपाली साथीहरू पनि सहभागी थिए। उनीहरूले नेपाली गाउँमा हुने शैलीमा भोज पनि आयोजना गरे।

'नेपाली परम्पराअनुसार बिहे गर्न हामीलाई एक जना पुजारीले सहयोग गरे। बिहे विशेष किसिमको थियो,' मिरियमले भनिन्, 'हामीले ट्रेकिङ समाप्त गरेको सानो गाउँमा हाम्रो बिहे भयो र गाउँलेहरू पनि आए।'

अहिले मार्क र मिरियम डेनमार्कमा बस्छन।  मिरियम एउटा संस्थामा अनुसन्धाता छिन्। स्वास्थ्य सम्बन्धी जर्नलमा उनका केही लेख प्रकाशित छन्। मार्क मनोविज्ञान विषयका स्नातकोत्तर हुन्, त्यहीँ एक संस्थामा काम गर्छन्।

बिहे गरेर गएपछि मिरियम नेपाल आएकी छैनन्। मार्क भने आफ्ना बुबा जोर्डीका साथ गत अक्टोबरमा नेपाल आएर एक महिना घुमे।

मार्क र उनका बुबाले २२ दिन सगरमाथा आधार शिविर (इबिसी) सम्म पदयात्रा गरे। पोखरामा थकाइ मारे। बिहेका पण्डितलाई भेट्न उनको गाउँ सल्यान पुगे। मिरियम पनि नेपाल आउने योजना थियो तर बिदा मिलेन।

'हामी (बाबुछोरा) नेपाल घुम्दा मिरियमलाई धेरै सम्झियौं। छुट्टी मिलाएर अर्को पटक आउँछौं,' मार्कले त्यही बेला सेतोपाटीसँगको भेटमा भने, 'हामी संसारका धेरै देश घुमेका छौं। तर नेपाल जस्तो राम्रो र नेपालीजस्ता राम्रा कतै भेटेनौं। हामी नेपालसँग प्रेममा परेका छौं।' 

marc-and-miriam-marriage-1702357597.jpgmarc-1702357602.jpg

mc-1702357608.jpg