किन समयमै तोकिँदैन उखुको न्यूनतम समर्थन मूल्य ?

२०८० मङ्सिर २६ मंगलबार १९:३९:०० मा प्रकाशित

 । सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा किसान समस्यामा पर्ने गरेका छन् । बाली उत्पादन हुनु अगावै मूल्य निर्धारण हुनुपर्नेमा उखु बालीका सन्दर्भमा किसानले बाली भित्र्याउँदासमेत मूल्य निर्धारण हुन सकेको छैन ।

 

 

 

नेपालमा मङ्सिर अन्तिम सातादेखि फागुन मसान्तसम्म उखुको क्रसिङ हुन्छ । नेपालका विभिन्न चिनी मिलले उखुको क्रसिङ थालिसकेका छन् । न्यूनतम समर्थन मूल्य नतोकिएकै कारण किसानले उधारोमै उखु बेच्नुपर्ने बाध्यता छ ।

 

अन्य बालीजस्तो उखुलाई भण्डारण गरेर अनुकूल समयमा बेच्ने सुविधा किसानलाई हुँदैन । समयमै उखु नबेच्दा बारी खाली नहुने, अन्य बाली लगाउन नपाउने र धेरै ढिला भएमा रस सुक्ने जस्ता समस्याले किसान घाटामा पर्दछन् । त्यसैले पनि उखुको समर्थन मूल्य समयमै तोक्नुपर्ने किसान बताउँछन् ।

 

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण नहुनुमा उद्योगी र सरकारकै षड्यन्त्र भएको सरोकारवाला बताउँछन् । उखु किसान संघर्ष समितिका संरक्षक राकेश कुमार मिश्रले किसानसँग सस्तोमा उखु खरिद गर्नका लागि समयमै समर्थन मूल्य निर्धारण नगरिएको आरोप लगाए ।

‘उखुको न्यूनतम समर्थन मूल्य समयमा निर्धारण नगर्नु उद्योगी र सरकारको षड्यन्त्र हो,’ उनले भने, ‘उखु कच्चा पदार्थ हो, चैतपछि राख्नै मिल्दैन, तीन महिनामा यसको उत्पादन लिन सकेन भने खेर जान्छ, पछि सरकारले जति मूल्य तोके पनि बाध्य भएर उखु दिनुपर्ने हुन्छ ।’

 

उद्योगीले सरकारलाई तथ्याङ्क उपलब्ध गराउने भएकाले सरकारले उद्योगीकै भनाइ अनुसार कार्य गर्ने उनको आरोप छ । ‘सरकारसँग कुनै तथ्याङ्क नै छैन,’ उनले भने, ‘उद्योगीले तथ्याङ्क उपलब्ध गराउँछन्, सरकारले उनीहरुकै कुरा सुन्छ ।’

सरकारले उखु उत्पादनको लागतभन्दा कम मूल्य निर्धारण गर्दा किसानले उखुको न्यूनतम समर्थन मूल्य अस्वीकार गरेका कारण पनि सहमति जुट्न सकेको छैन । ‘सरकारले १७ गतेको छलफलमा ५ सय ४० रुपैयाँ प्रतिक्विटल मात्रै न्यूनतम मूल्य निर्धारण गर्ने भएकाले हामीले स्वीकार गरेनौँ, हिजोको छलफलमा पनि ५ सय ६५ रुपैयाँमात्रै दिइने भन्नुभयो, यसले हाम्रो लागत पनि उठ्दैन,’ उखु उत्पादन संघ सर्लाहीका उपाध्यक्ष श्यामबाबु राय भन्छन्, ‘प्रतिकिलो चिनीमा एक रुपैयाँ मूल्य बढ्दा, उखुको ७ रुपैयाँ बढ्नु पर्ने हो, तर चिनी प्रतिकिलो ९५ रुपैयाँ मिलबाटै बिक्री हुँदा उखुको मूल्य बढेन ।’

उखुको लागत उठाउन सरकारले कम्तीमा पनि प्रतिक्विटल ८ सय रुपैयाँ मूल्य निर्धारण गर्नुपर्ने राय बताउँछन् । यो वर्षका लागि उखुको समर्थन मूल्य अझै निर्धारण हुन सकेको छैन । उखुको समर्थन मूल्यको विषयमा छलफल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटी अर्यालले बताइन् ।

उनका अनुसार गत वर्ष उखुको अनुदान रकम भुक्तानी हुन नसक्दा, समर्थन मूल्यमा सहमति हुन नसक्दा, उत्पादन लागत तथ्याङ्क आउन ढिलो लगायतका कारणले उखुको समर्थन मूल्य अझै निर्धारण हुन नसकेको हो ।

 

‘कृषि विभागबाट उखुको समर्थन मूल्य निर्धारणका लागि उत्पादन लगातको तथ्याङ्क नै ढिलो गरी आयो,’ उनले भनिन्, ‘अहिले स्थानीय तहबाटै उत्पादन लगातको तथ्याङ्क संकलन ढिलो भएकाले हामीले पनि ढिलो नै प्राप्त गर्‍यौँ ।’

उखुको न्यूनतम समर्थन मूल्य निर्धाउखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन – NepalWatchरणका लागि छलफल भइरहेको उनले बताइन् । ‘उखुको समर्थन मूल्य निर्धारणका लागि सरोकारवाला निकायसँग छलफल गर्दैछौँ,’ उनले भनिन्, ‘सम्भवतः यो साताको अन्तिमसम्ममा मूल्य निर्धारण हुन्छ ।’

मूल्य सर्वसम्मत भएपछि सार्वजनिक गरिने अर्यालले जनाइन् । किसानले गत वर्षकै ५२ करोड अनुदान रकम भुक्तानी पाउन नसक्दा यो वर्षको उखुको न्यूनतम समर्थन मूल्य निर्धारण हुन नसकेको उनले सुनाइन् ।

‘किसानसँग छलफल गर्दा गत वर्षकै भुक्तानी नभएको गुनासो गरेका छन्,’ उनले भनिन्, ‘भुक्तानी नहँुदासम्म क्रसिङ भएको उखुमा यो वर्षको न्यूनतम समर्थन मूल्य निर्धारण नगरी गत वर्षकै मूल्य दिँदा हुने भन्नुभएको छ, तर हामीले यो वर्षको मूल्य निर्धारणका लागि छलफल गरिरहेका छौँ ।’

सरकारले उखु किसानको ५२ करोड रुपैयाँ दिन बाँकी छ । गत वर्षको उखु किसानलाई तिर्नुपर्ने १ अर्ब ३२ करोड रुपैयाँमध्ये ८० करोड रुपैयाँ भुक्तानी भइसकेको प्रवक्ता अर्यालले बताइन् ।

सरकारले अर्थिक वर्ष ०७९/८० मा प्रतिक्विन्टल अनुदानसहित ६ सय १० रुपैयाँ उखुको मूल्य निर्धारण गरेको थियो । प्रतिक्विन्टल पाँच सय २० रुपैयाँ निर्धारण गरिएकोमा सरकारले अनुदानस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ थपेको थियो ।

आर्थिक वर्ष ०७८/७९ को भन्दा २० रुपैयाँ बढाएर गत वर्ष समर्थन मूल्य तोकिएको थियो । सो आर्थिक वर्ष उखुको न्यूनतम समर्थन मूल्य ५ सय ९० रुपैयाँ प्रतिक्विन्टल निर्धारण थियो ।उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ? - स्नेहा कर्ण :: CIN Khabar

घट्दै उखुको क्षेत्रफल र उत्पादन

नेपालमा पछिल्लो पटक उखुको क्षेत्रफल र उत्पादन घट्दै गएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६८ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेती गरिएकोमा ३४ लाख मेट्रिक टन उत्पादन भएको थियो । एक वर्षमा करिब ४ हजार हेक्टर क्षेत्रफल र ३ लाख उखु उत्पादन घटेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ६४ हजार ३ सय  हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो । सोबाट ३१ लाख ८३ हजार मेट्रिक टन उखु उत्पादन भएको थियो । आव २०७८/०७९ मा पनि उखुको क्षेत्रफल र उत्पादन घटेको छ । सो वर्षमा ६२ हजार ५ सय हेक्टर क्षेत्रफलबाट ३१ लाख ५९ हजार मेट्रिक टन उखु उत्पादन भएको थियो ।

नेपालमा उत्पादित उखुको विवरण

Capture